लुम्बिनी प्रदेशलाई लैङ्गिक समानतायुक्त बनाउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशलाई लैङ्गिक समानतायुक्त बनाउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

२४ फागुन, दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई लैङ्गिक समानतायुक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रभावकारी पहल भइरहेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री आचार्यका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया तथा राजनीतिसहितका सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार दृढ छ। ‘प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० लागू गरिसकेको छ। महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई उच्च प्राथमिकता दिइएको छ,’ उहाँले बताउनुभयो।

उहाँले लैङ्गिक समानता प्रवर्द्धन गर्ने कार्यक्रमहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। ‘समाजमा अझै पनि विभिन्न असमानताहरू विद्यमान छन्। ती हटाउन नीतिहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ,’ उहाँको शुभकामना सन्देशमा उल्लेख छ।

यस वर्ष नेपालमा ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। मुख्यमन्त्री आचार्यले लैङ्गिक समानता प्रवर्द्धनमा संलग्न सरकारी तथा गैरसरकारी संघसंस्था र अधिकारकर्मीहरूलाई अझ उत्साहका साथ काम गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।

. . .
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका